एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ । एमसिसी पेश गर्ने मार्गमा बाधक बन्दै आएको आरोप सभामुखमाथि लाग्ने गरेको र उनले माओवादीको एजेण्डालाई प्राथमिकता दिएको भन्ने गरिन्छ ।
आइतबार बालुवाटारमा गठबन्धनको बैठक सकिए लगत्तै माओवादी अध्यक्ष प्रचण्ड बानेश्वर पुगि उनी सभामुख सापकोटासँग छलफल गरेर निस्किएका छन् । प्रचण्ड निस्किएपछि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक सुरु गरेका छन् ।
प्रचण्डले गठबन्धनको निर्णय अनुसारको सन्देश सभामुख सापकोटालाई प्रवाह गरेपछि उनले सोही अनुसार कार्यव्यवस्था समितिको बैठक सुरु गरेका हुन् । योसँगै एमसिसी सदनमा पेश हुने मार्गमा अवरोधका रुपमा प्रस्तुत गरिएका सभामुख र माओवादी अध्यक्ष प्रचण्डबीचको तालमेलले आइतबार एमसिसी पेश हुने गरी कार्यसूचि तयार हुने सम्भावना बढेको छ ।