बेलायतमा शुक्रबार आएको ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।
१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् ।
तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् । आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको थियो ।