राजनीति

यसरी मुलुक समस्यै समस्याले कति दिन चल्छ ?

Lumbinikhabar Online

डा.डी.आर.उपाध्याय-
काठमाडौं – आज मुलुक समस्या नै समस्याले घेरिएको अवस्थामा छ । राजनीतिक दल र तिनका नेताहरुलाई कुनै चासो नै नभएको देखिन्छ ।

यदि उनीहरुलाई मुलुकको भाग्य र भविष्यको चिन्ता र चासो हुन्थ्यो भने आज यो देश यस्तो अवस्थामा रहने थिएन ।

मुलुकको अर्थतन्त्र ओरालोतिर लागेको छ । देशको अर्थतन्त्र नै थला परेको अवस्था छ । यस्तो अवस्थामा पनि अनियमितता हुन छोडेको छैन ।

सबैले आलो पालो देश लुट्ने मात्र काम गरिरहेका छन् । भ्रष्टाचारले सिमा नाघेको छ ।

जनता मुकदर्शक भएर बसेका छन् । जनताले संघर्ष गरेर बलिदान गरेर ल्याएको ब्यवस्थामाथि नेताहरुको मनपरी चलेको छ ।

हिजो राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु घर जोडेर छतमा बसेर घाम ताप्दै हाइ गरिरहेका छन् ।

के यसैका लागि राजनीतिक परिवर्तन भएको हो ?

आज जनताको मतको कदर हुन छाडेको छ । सबै पदका लागि लडाइँ गरेका छन् । नेताहरुलाई आफू र आफ्नो परिवारबाहेक अरु हेर्ने फुर्सद नै छैन ।

आफन्त, नातागोता र आफ्ना वरपर मात्र हेर्नेबाहेक नेताहरुले अरु के गरे ?

हामीले कल्पना गरेको मुलुक कहिले बन्छ ?

लोकतन्त्रको नाममा नेता मात्र मोटाउने काम भयो । यसरी देशको भविष्य बन्दैन ।

अब हामी सबैले गम्भिर भएर सोच्ने बेला भयो । मुलुकको अवस्था बर्बाद हुँदैछ । जनता विश्वव्यापी महामारीको असरमा छन् । जनतामा त्यो त्रास अझै हटेको छैन ।

राजनीतिज्ञहरू सधैं सरकार र सत्ताको मोहमा लिप्त भएर बसेका छन् । देश बनाउने सोच नेतामा देखिएन ।

अब यही गतिमा मुलुक रहिरहने हो भने कहिले बन्छ ? अब जनताले दलहरुलाई विश्वास नगर्ने दिन आउन सक्छ । किनभने दलहरुले जनताको मतमाथि अपमान गरिरहेका छन् ।

यसरी मुलुक समस्यै समस्याले कति दिन चल्छ ?

अब मुलुकमा दुरदर्शी नेताको खाँचो छ । यति बेला सबै जनताले भरोसा गर्न सक्ने राजनेताको खोजी भइरहेको छ ।

देशको यो अवस्था देखेर जनताको ठूलो जमातमा नैराश्यता छाएको छ । आज देशमा राजनीतिक अन्योलको अवस्था छ । राजनीतिक दलहरुले चाँडोभन्दा चाँडो विचारको राजनीति सुरु गर्नु पर्छ।

सबैलाई समेट्दै मुलुकलाई अग्रगमनतिर लैजाने बाटोमा सबै राजनीतिक दलहरु हिँड्नु पर्छ ।

आजका आमसमस्या सबै दलहरु मिलेर समाधान गर्नु पर्छ । मुलुकलाई निकास दिन दलहरु मिल्नु पर्छ ।

नेकपा एमालेका कुरा पनि सत्ता गठबन्धनले सुन्नु पर्छ । राजनीतिलाई भाँडभैलोमा लैजान दिनु हुँदैन ।

राजनीतिक खिचातानी, सत्ता र शक्तिको लुछाचुडीले गर्दा जनताले दुःख पाइरहेका छन् ।

अब मुलुकलाई अस्तव्यस्त अवस्थाबाट बचाउनु पर्छ ।

Tags

छुटाउनु भयो कि ?