काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् ।
काठमाडौं महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।
मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्वर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीति अनुसार आउँदाे दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए ।
मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा महानगर काठमाण्डाैको विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाए । उनले रानीपोखरीको केही काम बाँकी रहेकाले काम सम्पन्न हुनासाथ नागरिकका लागि खुला गर्ने पनि बताएका छन् ।