रुकुम पश्चिमको मालपोत कार्यालयमा टोकन प्रणालीको सुरुवात गरिएको छ । अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढिरहेका बेला मालपोत कार्यालय रुकुम पश्चिमले सेवालाई सहज बनाउने प्रयास थालनी गरिएको जनाएको छ ।
यही माघ ४ गतेदेखि कार्यालयमा टोकन प्रणालीमार्फत सेवा प्रदान गर्न थालिएको हाे । ‘बिचौलियाको चलखेल भयो’, मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले भन्नुभयो, ‘चलखेल रोक्न र पालोअनुसार सहज सेवा प्रवाह गर्न टोकन प्रणाली लागू गरेका छौँ ।’
टोकन प्रणालीअनुसार सुरुमा सेवाग्राहीले कार्यालय प्रमुख समक्ष निवेदन पेस गरेपछि प्रमुखले नम्बर र समय अङ्कित टोकन सेवाग्राहीलाई उपलब्ध गराउनुहुनेछ । त्यसपछि त्यही टोकन नम्बरअनुसार सम्बन्धित फाँटमा क्रमैसँग सेवाग्राहीले सेवा लिन सक्नेछन् । कार्यालय प्रमुख खत्रीका अनुसार सकभर टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, त्यही दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बरअनुसार काम हुनेछ ।