कारोबार रकम एकलौटी पार्ने उद्देश्यले तीन जना व्यावसायिक साझेदारहरूको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दीनानाथ सोनार सिरहा, नगरपालिका २१ सिरहा घर भइ काठमाण्डाैकाे बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आल रहेका छन् । उनिहरुलाई मोरङ प्रहरीले आज शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
उनिहरुले योजनाबद्ध तरिकाले आफ्ना साझेदारहरू ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या भएको प्रहरीको भनाइ छ ।
हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ मा उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बूको शव हिजो बिहीवार ललितपुर महानगरपालिका १२ ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।
उक्त घटनाका मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरूको हत्या भएको प्रहरीको भनाइ छ ।