News in Nepali

“कसैले टुटाउन खोजे पनि गठबन्धन टुट्नेवाला छैन ” : अध्यक्ष नेपाल

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनैपनी हालतमा नटुट्ने दाबी गरेका छन् ।

बुधवार नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एस्तो दाबी गरेका हुन् ।

नेता नेपालले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको चुनावमा गठबन्धन सरकारले मिलेर प्रतिस्पर्धा गर्ने बताए ।

अध्यक्ष नेपालले भने , ‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढिरहेका छौँ । पाँच दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि गठबन्धन टुट्नेवाला छैन । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरू धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन ।´

अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको पनि बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?