नेपालको शुदुरपश्चिम प्रदेश स्थित महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच सम्झौता भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव सहित मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले दुई देशबीचको आवागमन सहज हुने बताउनुभयो ।
मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरूसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै काम भइरहेको उल्लेख गर्दै त्यस क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।