बाग्लुङकाे बाग्लुङ नगरपालिका १४ नारायणस्थानमा रहेको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन सकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।
गत असार बाटै सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन । विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको सात सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्र भने हुन नसकेको हो । झन्डै २६ वर्षदेखि बन्द अवस्थामा रहेको याे विमानस्थल बाग्लुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेदेखि फेरि सञ्चालनमा आएको थियो । तर अहिले विमानस्थल बन्द छ । हवाई सेवा नियमित भएमा बाग्लुङका साथै पर्वत र म्याग्दीका नागरिकलाई समेत सुविधा पुग्ने बताइएको छ ।