सोमबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच चर्काचर्की भएको छ ।
अमेरिकाले युक्रेनलाई लिएर जारी संकटबारे छलफल गर्नुपर्ने अनुरोध गरेपछि सोमबार सुरक्षा परिषद्को बैठक बसेको थियो । युक्रेन संकटलाई कुटनीतिक पहलमार्फत् समाधान गर्नका लागि भइरहेका प्रयासबीच पहिलो पटक परिषदको बैठक बसेको हो ।
बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा रुसले हमला गरे भीषण युद्ध सुरु हुने र यसबाट अन्तर्राष्ट्रिय सुरक्षा जोखिममा पर्ने चेतावनी दिइन्
तर राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्ज्याले अमेरिकामाथि नै उल्टो आरोप लगाएका थिए । नेबेन्ज्याले युक्रेनमाथि हमला गर्ने आफूहरूको कुनै योजना नभएको बताउँदा समेत अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धको त्रास फैलाएको आरोप लगाए ।
यसैबीच, सुरक्षा परिषद्को बैठकलगत्तै ह्वाइट हाउसले युक्रेन संकटलाई कूटनीतिक तबरले समाधान गर्न रुसलाई पुन: अपिल गरेको छ ।
‘यदि रुसले हाम्रा सुरक्षा चासोलाई वार्तामार्फत् सम्बोधन गर्ने इमान्दारिता देखायो भने हामी (अमेरिका) र हाम्रा सहयोगी एवं साझेदारले असल नियतका साथ कुराकानीलाई जारी राख्ने छौं’, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर रुसले कूटनीतिलाई बेवास्ता गर्दै युक्रेनमाथि हमला गरे गम्भीर परिणाम भोग्नु पर्न पनि विज्ञप्तिमा उल्लेख छ ।