News in Nepali

ऊर्जा मन्त्री भुसाल र अष्ट्रेलियाली राजदूत भोल्क बिच भेटवार्ता

Lumbinikhabar Online

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्क र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बिच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा
मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्त्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेकी भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

भेटका क्रममा राजदूत भोल्कले नेपालको जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिन् । उनले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको थियो ।

Tags

छुटाउनु भयो कि ?