स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन ।
थप छलफल गरी ठोस निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको छ । स्थानीय तहको चुनाव मात्र नभइ तीन वटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।
स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् ।
आज बिहानको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।