News in Nepali

गौरमा दिएको वक्तव्य कसैप्रति लक्षित नभएको मन्त्री यादवको स्पष्टीकरण

Lumbinikhabar Online

केहि दिन अघि रौतहटकाे गौरमा श्रद्धाञ्जलीसभा मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले दिएको वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।

साेमवार विज्ञप्ति निकाल्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रूपमा लिन अनुरोध गर्दै उहाँले आफू आउँदा दिनमा यसप्रति सचेत रहने बताउनुभएको छ ।

मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उहाँले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताउनुभएको छ । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि मन्त्री यादवले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रूपमा मनाउँदै आएको मन्त्री यादवले बताउनुभयो । जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटकाे गौरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

त्याे सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उहाँको भनाइ छ ।

शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

 

Tags

छुटाउनु भयो कि ?