बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडक खण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा गाडी सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्ने निर्णय गरेकाे हाे ।
स्रोतका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ । महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो ।
सडक निर्माणकै क्रममा आवतजावत गर्न दिँदा दुर्घटनाको जोखिमसमेत भएकाले बन्द अवधिलाई छोट्याउने गरी काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सडक खण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि भिर फुटाउन ६० टन विस्फाेटक पदार्थको प्रयोग गरिने भएकाले यस क्षेत्रमा समेत अर्को कार्यतालिका बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।