अपरेटर ले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।
सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुइपुग जलविद्युत् आयोजना बुधवारदेखि बन्द गरिएको छ ।
विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधवारदेखि बन्द गरेका हुन् । गएकाे वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताएका छन ।
विद्युत् सेवा बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने कुरा लामाले संचार माध्यमलाई बताएका छन ।