-डा.डिआर उपाध्याय,
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ ।
नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दोस्रो पटक सभापतिमा बाजी मारे । कांग्रेस पुरानो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो । यो पार्टी कमजोर हुनु हुदैन ।किन भने यो पार्टी कमजोर हुदा बित्तिकै लोकतन्त्र कमजोर हुन्छ । नेपाली काँग्रेस वर्तमान राजनीतिक समीकरणमा समेत सत्ता गठबन्धनको नेतृत्व गरेको दल हो। तसर्थ उक्त दलको महाधिवेशनलाई सबैले प्राथमिकतासाथ लिनु स्वभाबिक नै हो । महाधिवेशनले देउवालाई झन शक्तिवान बनाएको छ । जसरी पनि देउवालाई नेतृत्वबाट विस्थापित गर्ने रणनीति बुन्नेहरु अन्ततः देउवा सामु लम्पसार भएर झुके ।
महाधिवेशनमा युवाहरूको राम्रै उपस्थिति थियो। ५० भोटसमेत प्राप्त नगर्नेहरू चुनावको मैदानमा देखिए । सभाति पदमा सोचे जति भोट नपरे पछि प्रकाशमा सिंह र बिमनेन्द्र निधिने दोस्रो चरणको चुनावमा देउवालाई सघाए । देउवाइतर भनिएकाहरू नै देउवा खेमामा मिसिन पुगे । नेतृत्वमा लडाइँ लडेका नेताहरु नै दोस्रो चरणको चुनावमा देउवा जिताउ अभियानमा लागे । राजनीति भनेको घुमाउरो बाटो भन्थ्ये रहिछ । आआफ्नै दाउपेच र स्वार्थमा लागेका नेताहरु खै के कारणले हो देउवा जिताउ शेखर हराउ अभियानमा लागे । । यद्यपि कांगे्रस नेतृत्वको विषयमाथि सुरुमा गम्भिर बहस चलेको थियो ।
नेतृत्व परिवर्तन आजको आबश्यकता हो भनेर काँग्रेस नेताहरु घनिभूत छलफलमा नजुटेका होइनन् तर परिणाम देउवाको काँध माथि आयो । तसर्थ देउवाका लागि यो समय चुनौती र मौका दुवै सघन भएको एक अन्तिम अवसर हो। नेपाली कांग्रेसको नेतृत्व धेरै बर्ष सम्म कोइराला परिवारमा थियो। देउवाले दुइकार्यकाल पार्टी हाँक्दै छन । देउवा भाग्यमानी नेता हुन किन भने उनलाई यसै वर्ष दुईवटा महत्वपूर्ण जिम्मेवारी पाउन सफल भएका छन ।
अप्रत्याशित हिसाबले सरकारको नेतृत्व गर्ने र सभापतिमा दोहोरिएर काम गर्ने अबसर उनले पाएका छन । उनले मत माग्दा नै अन्तिम एक पटक भनेका थिए । त्यो कारणले पनि पार्टी सभापति जित्न सफल भएको हुनु पर्छ । नेपाली कांगे्रसले पटकपटक सत्ता सञ्चालनको जिम्मेवारी पायोे, तर देश र जनताले सोचे बमोजिमको बिकास र समृद्धि दिन भने सकेन । बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि उसले नै निरन्तर देशको सत्ता अनि शासनको बागडोर सम्हाल्यो। दुर्भाग्य, देशको अबस्था फेरिन भने सकेन । विश्वका अन्य कतिपय देशहरूले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्चर्यजनक आयामहरू निर्माण गरे। छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र बिकासको हिसावले कहाँ देखि कहाँ पुगि सके हामी भने जहाँको त्यही छौं । देशमा बेरोजगारी, गरिबी, अन्याय, अत्याचार, कुशासन, बेथितिहरू ब्याप्त छन । देशको बिकास गर्ने कुरामा यो सरकार अलि गम्भिर बन्नु पर्छ । सबैको अगुवा भनेको चाहिँ सरकार नै हो। सरकार निर्माण र नेतृत्व गर्ने सबैभन्दा धेरै र लामो समय अवसर प्राप्त गरेकाले देश बिग्रिनुमा धेरै जिम्मेवारी पनि स्वतः कांगे्रसले नै बोक्नुपर्छ। काँग्रेसका लागी यो मौका हो ।
देशको र जनताको उन्नति प्रगति देउवाले अब खोज्नुपर्छ। २०१५ सालको चुनावमा दुईतिहाइ बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पष्ट बहुमत प्राप्त कांग्रेस आज अलि कमजोर अनि लज्जास्पद हार बेहोरेको दलमा सीमित हँुदैछ। आगामी चुनावमा कस्तो मत परिणाम ल्याउछ त्यो हेर्न बाँकी छ । एमाले बिभाजन भएको अबस्था छ । यस्तो अबस्थामा काँग्रेसले बहुमत ल्याउछ की भन्ने अनुमान मात्र हो । अहिलेसम्म आफू सक्षम भएर नभै, अरूको आन्तरिक कलह धेरै भएर कांग्रेसले मौका पाएको हो। कम्युनिस्टहरूमा फुटआउनु नै कांग्रेसलाई फाइदा हो । नेपालका कम्युनिस्टहरूको फाटो परेको बेला काँग्रेसले आफूलाई मजवुत र बलियो बनाउनेतिर जानु पर्छ ।
आफूलाई पुनर्निर्माण गर्ने काममा काँग्रेस अघि बढनु पर्छ । अब कांग्रेसको इतिहास रच्ने बेला हो यो । अवसरको संघारमा कांग्रेस उभिएको छ। तसर्थ, देउवाको नेतृत्व नयाँ नीति र प्रायोगिक कार्यक्रम लिएर आउनुपर्छ। पाँच वर्षपछि अर्को महाधिवेशन गर्ने मात्र हिसाबको नभई देशको रूपान्तरणका लागि ठोस कदम लिँदै पहिले आफू रूपान्तरित हुने साहस देखाउनुपर्छ। नागरिकका समग्र जीवनस्तर अभिवृद्घिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउन सक्नुपर्छ, जनतालाई उसमाथि आस जगाउन सक्नुपर्छ।
ठूलो भन्ने पार्टीको कदम पनि ठूलै हुनुपर्छ। केही मुठ्ठीभरहरूले हाम्रो कांग्रेस भन्ने नभई आम नागरिकले राम्रो कांग्रेस भन्ने बन्नुपर्छ। देशको विकासका लागि नयाँ नीति निर्माण, वैदेशिक सम्बन्धको पुनव्र्याख्या अनि देशका जल्दाबल्दा समस्याको उपचार गर्ने सवालमा गहन कार्र्यनीति ल्याउनुपर्छ। सफल राष्ट्रनिर्माणको अभियानमा नेतृत्वदायी र कुशल भूमिका निर्वाह गर्ने तत्पतरता देखाउनुपर्छ। कांग्रेसले लोकतन्त्रको आन्दोलनको अगुवाइ गरको पार्टी हो । त्यसैले उ आफैं लोकतान्त्रिक अभ्यासबाट आफना नेता चुन्दै छ । यसर्थ देउवाले कांगे्रसलाई व्यवस्थापन गर्नुपर्ने गहन आवश्यकता छ।