प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सव मुख्य दिन बुधबार दिउँसो स्वयंवर सम्पन्न भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट बाजागाजा, सहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी नगरपरिक्रममापश्चात् रङ्गभूमिमा पुर्याइएको थियो । सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिएको थियो ।
सो अवसरमा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन सहभागी भएका थिए । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतिकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झझल्को दिएको थियो ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेको र उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालु जनकपुरधाम आएका छन् । स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङख्यामा श्रद्धालु भक्तजनको भिड लागेको छ । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।