म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।
गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।