एमालेको दसौँ महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहितका उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।
रावलले ट्वीट् गर्दै लेखेका छन्– ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’