खेलकुद

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

Lumbinikhabar Online

ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलो पटक पराजित गरेको हो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

रिजवानले जस्प्रित बुमराहलाई चौका प्रहार गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए । बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का प्रहार गर्दै ४० बलमा अर्धशतक पूरा गरेका थिए । बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् । पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ को विश्वकपमा मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । टि२० विश्वकपमा कोहलीको यो १० औं अर्धशतक हो । कोहलीको टि२० आई करिअरको २९ औं अर्धशतक हो ।

Tags

छुटाउनु भयो कि ?