स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ राम्रो काम गर्दागर्दैपनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाईने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्तापक्षीय गठबन्धनमा आवद्ध दलका नेताहरुले स्वास्थ्य मन्त्रालय मागेपछि श्रेष्ठको बहिर्गमन हुन लागेको हो ।
प्रधानमन्त्री देउवाले समेत यसको संकेत मन्त्री श्रेष्ठलाई दिईसकेका छन् । धेरैको अनुमानलाई फेल खुवाउँदै श्रेष्ठले स्वास्थ्य मन्त्रीमा बाजी मारेका थिए । व्यापारीलाई स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी दिईएको भनेर सुरुमा आलोचना भएको थियो । तर, मन्त्री श्रेष्ठले सुरुवातदेखि नै आजको दिनसम्मपनि प्रभावकारी काम गरेर आलोचकहरुको मुख बन्द गरिदिएका छन् ।
उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा देखियो सुधार
कतिसम्म भने उनले मन्त्री भएपनि सरकारी गाडीदेखि आवासीय सुविधासमेत लिएनन् । कोभिड–१९ को नियन्त्रणमा उनले प्रभावकारी कदम चालेका छन् । खोप आपूर्तिमा पनि उल्लेखनीय काम गरे । पछिल्लो समय उनले सबैतिरबाट वाहवाही र प्रशंसामात्रै बटुलेका छन् । तर, गठबन्धनमा आवद्ध दलले स्वास्थ्य मन्त्रालयमा आँखा लगाएपछि प्रधानमन्त्री देउवाले नचाहँदा नचाहँदैपनि श्रेष्ठलाई उक्त जिम्मेवारीबाट मुक्त गराउनुपर्ने भएको छ ।
हुन त प्रधानमन्त्री देउवाले उनलाई अर्को कुनै मन्त्रालयमा जान भनेका छन् । तर, यसबारेमा श्रेष्ठले भने कुनै मनशाय नबनाएको बुझिएको छ । स्वास्थ्य मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले पनि आँखा लगाएका छन् ।
आजमात्रै पनि मन्त्रालय भागबण्डाको लागि सहमति गर्न बसेको बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवासँग स्वास्थ्य मन्त्रालय मागेको चर्चा छ । कतिपयले त मन्त्री श्रेष्ठले राम्रो काम गर्दागर्दै पनि मन्त्रालय भागबण्डाको विषय देखाएर ‘बलीको बोको’ बनाउन लागिएको भनेर टिप्पणी गर्न थालेका छन् ।