श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।
दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उहाँकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।