चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरूबीच शनिबार फोनवार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच शनिबार फोनमा कुराकानी भएको हो । फोनवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताएका थियो ।
चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ विदेशमन्त्री जियचीले जानकारी दिए । उनले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको, आपसी सम्मानका आधारमा कायम गर्न चाहेको र यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी दिएका थिए ।
चीनले अमेरिकालाई उसले विगतका गल्तीहरू सच्याओस् र आगामी दिनमा पनि विनाकुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको चिनियाँ विदेशमन्त्री जियचीले बताएको समाचारमा जनाइएको छ । चीनले अमेरिकालाई दुई देशबीचको हित र आवश्यकताको महत्व र राजनीतिक प्रणाली छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई देशका लागि मात्र होइन कि विश्वकै लागि महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले अमेरिका चीनसँग स्थायी र रचनात्मक रूपमा सम्बन्ध राख्न चाहेको र आगामी दिनमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने बताएको समाचारमा उल्लेख छ ।