वैदेशिक रोजगार विभागमा गत आइतबार एक कन्सल्टेन्सीद्वारा ३० जनाभन्दा बढी पीडित युवाहरुको जम्काभेट भयो। उनीहरु सबै समृद्धि कन्सल्टेन्सीबाट पीडित थिए। उनीहरु त्यहाँ सबैजना मिलेर एकैचोटी पुगेका थिएनन्। ठगिएका ४–५ जनाको समुह बनेर गएका उनीहरुको विभागमा अकस्मात ठूलै जमात भेला भएको थियो।
त्यसपछि त उनीहरु छक्क परे र ठूलै जमात भएर न्यायको लागि विभागको कोठा कोठा चहार्न थाले। पीडित उनीहरु विभागकी एक कर्मचारी तारा गिरी भएको ठाउँमा पुगे र सबै कुरा बेलिविस्तार लगाए। उनीहरुमध्ये केहिले कन्सल्टेन्सीले दिएको नक्कली भिसाको कागज देखाउँदै भने, ‘यो कन्सल्टेन्सीबाट २–३ सय जना फसेका छन्। हामीसँग उसलाई पैसा बुझाएको चेक, रसिद सबै छ।’
उनीहरुको कुरा सुनिसकेपछि गिरीले भनिन्, ‘कन्सल्टेन्सीबाट विदेश जाने भनेको पढ्नको लागि मात्रै हो, वैदेशिक रोजगारीमा जाने होइन। हामीले यहाँबाट गएर उसलाई कारवाही गर्ने अथोरिटी हुँदैन। किनकि कन्सल्टेन्सी हाम्रो विभागमा दर्ता भएको हुँदैन। यहाँ वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी दर्ता हुने भएकाले हामीले तिनीहरुलाई भने कारवाही गर्न मिल्छ। तपाईहरु गलत ठाउँमा जानु भयो।’
उनी अगाडि थप्छिन्, ‘कन्सल्टेन्सीको काम भनेको विदेशको कलेजसँग सहकार्य गरी यताबाट विद्यार्थी पढ्नको लागि पठाउने हो। रोजगारीको लागि पठाउने होइन।’
तर उक्त कन्सल्टेन्सीले आफूहरुको म्यानपावर कम्पनीसँग पनि सम्बन्ध रहेको भनि युवाहरुलाई झुक्याएको रहेछ। पीडितहरुसँग उक्त कन्सल्टेन्सीले वर्किङ(कामदार) भिसामा सिंगापुर पठाउने भनेर जनही ५ देखि ८ लाख रुपैयाँसम्म उठाएको रहेछ।
गिरीका अनुसार उनीहरु (पीडितहरु)को केसमा विभागले गर्न सक्ने भनेको वैदेशिक रोजगारीको लागि स्वीकृति नलिए पनि किन तपाईंले वैदेशिक रोजगारीको काम गर्नु भयो त भनेर सोध्ने ठाउँ रहन्छ तर कारवाही गरिहाल्ने ठाउँ चाहीँ विभागबाट हुँदैन।
अन्ततः विभागकी कर्मचारी गिरीले पीडितहरुलाई विभागमा रहेको पिपुल्स फोरममार्फत उजुरी दर्ता गराउन सल्लाह दिन्छिन्। र, उनी भन्छिन्, ‘सबैजनाको एउटै केस रहेछ, अब तपाईंहरुले सामुहिक रुपमा यो कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने भनेर पैसा उठाएको भनेर एउटा निवदेन लेख्नुस् र सबैले हस्ताक्षर गरेर पिपुल्स फोरममा गएर दिनुस्। पिपुल्स फोरमसँग सल्लाह सुझाव माग्नुस र उहाँहरुले के सुझाव दिनु हुन्छ, त्यही अनुसार जानुस्।’
पीडित युवाहरुका अनुसार समृद्धि कन्सल्टेन्सीका संचालक सन्जीव रायमाझीको दुई वटा नागरिकता छ। एक पीडित युवा भन्छन्, ‘यसले सबैको गरी एक अर्ब जति ठगेको होला। सन्जीव रायमाझीको वास्तविक नाम रमेश वयलकोटी हो रे। त्यो दुई वटै नाममा नागरिकता छ रे।’
अर्का पीडित युवा भन्छन्, ‘संजिव भन्नेले औषतमा ५० करोडभन्दा माथि उठाएको होला। हामीले सिआईबीमा निवदेन बुझाइसकेका छौं र साथीहरुको सल्लाहनुसार यहाँ (विभाग) पनि आएका हौं। उसले कतिजनालाई रोजगारी भिसा, मल्टिप्रपोज भिसा भनेर हानिदिएको छ। उसले बहुउद्देश्य कामको लागि भनेको थियो। हाम्रो रोजगारी भिसासँग पनि सम्बन्धित छ भन्यो तर जुन बेला भिसा आयो अनि मात्रै हामीलाई थाहा भयो, यो नक्कली भिसा हो भनेर। ज–जसको भिसा आयो भनेको छ नि त्योसँग बढी रकम लिएको छ। भिसा आउनेको आउने ४ गते फ्लाइट पनि तोकिसकेको थियो।’
पीडित सबै युवाले कन्सल्टेन्सीका संचालक सन्जीव भन्ने व्यक्तिलाई आइएमई, बैंकमार्फत तथा हातमै पैसा बुझाएका रहेछन्। सुरुमा कतिपय पीडित युवाहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा उजुरी दिएका रहेछन्। जसले गर्दा समृद्धिमा संलग्न एक व्यक्ति भने समातिएका रहेछन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६