नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसँगै उनले लगाउने गरेको जर्सी नम्बर ७७ पनि रिटायर हुने भएको छ । अब भविष्यमा कुनै पनि नेपाली खेलाडीले नेपालको राष्ट्रिय टिमबाट खेल्दा यो नम्बरको जर्सी लगाउने छैन ।
नेपाल क्रिकेट संघ क्यानले आइतबार पारसको जर्सी नम्बर ७७ रिटायर गर्ने निर्णय गरेको हो । देशका लागि योगदान गर्ने खेलाडीहरुको जर्सी नम्बर रिटायर गर्ने प्रचलन अन्तर्राष्ट्रिय स्तरमा यसअघि नै छ । अर्जेन्टिनाले यसअघि डिएगो म्याराडोनाको जर्सी नम्बर १० रिटायर गरेको थियो ।
पछि म्याराडोना स्वयंले आफ्नो जर्सी नम्बर १० लियोनेल मेस्सीलाई गिफ्ट दिएपछि मेस्सीले १० नम्बर जर्सी लगाउँदै आएका छन् । भारतीय क्रिकेट बोर्डले समेत क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकरको जर्सी नम्बर १० रिटायर गरेको छ ।
अब कुनै पनि नेपाली खेलाडीले जर्सी नम्बर ७७ लगाएर राष्ट्रिय टोलीबाट नखेल्ने भए पनि पारस खड्का स्वयंले भने कुनै खेलाडीलाई जर्सी नम्बर ७७ दिन सक्छन् । यदि पारस स्वयंले कुनै खेलाडीलाई ७७ नम्बर जर्सी दिएमा भने ती खेलाडीले जर्सी नम्बर ७७ लगाएर खेल्न सक्नेछन् ।