टप खबर

चोरी आरोपमा समातिएका खडगबहादुर तामाङको प्रहरी हिरासतामा मृत्यु

Lumbinikhabar Online

चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षका खडगबहादुर तामाङलाई चोरी भएको नगद ५८ हजारसहित पक्राउ गरेको थियो ।

प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरी हिरासतमा भएकै बेला उनी बिरामी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको एसपी अधिकारीले जानकारी दिए । ‘हिरासतमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेछ, हामीले उनको परिवारलाई पनि खबर गरेका थियौं’, एसपी अधिकारीले भने– ‘धुलिखेलमा उपचारका लागि पनि परिवारका मान्छेसहित पठाएका थियौं ।’

नियमित मादक पदार्थ सेवन गर्ने र प्रहरी हिरासतमा रहँदा मादक पदार्थ सेवन गर्न नपाएपछि उनको स्वास्थ्यमा समस्या आएको प्रहरीले जानकारी दिएको छ । ‘हिरासतमा हुँदा नै टाउको ठोक्ने, शरीरमका टोक्नेलगायत अस्वभाविक क्रियाकलप गरिएको सीसीटीभी फुटेजमा पनि देख्न सकिन्छ’, एसपी अधिकारीले भने– ‘उनको सबै गतिविधि प्रहरीको सीसीटीभीमा सुरक्षित छ ।’

तामाङका आफन्तहरुले भने हिरासत भित्र प्रहरीको कुटाइले मृत्यु भएको आरोप लगाएका छन् । ‘शरीरभर निलडाम र चोटपटक देख्न सकिन्छ । प्रहरी हिरासमतमा भएको व्यक्तिको शरीरमा कसरी चोटपटक लाग्छ ?’ मृतकका आफन्तहरुले प्रश्न गरेका छन् । तर प्रहरी भने आरोप स्वीकार गर्न तयार छैन ।

‘हिरासत कक्षमा हामीले सीसीटीभी जडान गरेका छौ,अरु आरोपीतहरु पनि हिरासतमा छन’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘घटनाको छानबिनका लागि डीएसपीको कमाण्डमा टोली पठाएका छौं । जिल्ला प्रहरी मातहातका कार्यालयमा हिरासत कक्षमा प्रहरीले सीसीटीभी राखेकाले त्यसबाट सबै प्रष्ट हुने प्रहरीले भनेको छ ।

Tags

छुटाउनु भयो कि ?