कोभिड-१९

कोरोनाको तेस्रो लहरबाट जोगाउन सरकारको तयारी के छ ?

Lumbinikhabar Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने जनाएको छ। अब आउने नयाँ लहरमा बालबालिकाहरु उच्च जोखिममा रहने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि सार्वजनिक रुपमै भनिसकेको छ।

सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पुर्याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पुर्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’

विगतमा प्रति हप्ता १५ मेट्रिटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल एक सय २० मेट्रिकटन आपूर्ति भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै जिल्ला र १९ वटा ठुला अस्पतालहरुमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोतको सुनिश्चितता गरिएको भन्दै भदौभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

देशभर एक हजार आठ सय स्थानमा खुला सिमा रहेका छन् । उत्तरतर्फ चीनको रसुवा गढी र तातोपानी नाका, दक्षिणमा भारतसंग जोडिएका पशुपति नगर इलामदेखि दार्चुलाको पुलघाटसम्म गरी १३ वटा तोकिएका प्रवेश विन्दुमा हेल्थ डेस्क स्थापना गरीएका छन् ।

जसअन्तर्गत् गत हप्तासम्म चार लाख २२ हजार आठ सय ५४ जनामा स्क्रीनिङ गर्दा ७७ हजार पाँच सय ४६ जनाको कोरोना परिक्षण गरीएको थियो । सो क्रममा चार हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो । सीमा नाकामा परिक्षण गर्दा औषतमा पाँच प्रतिशतमा संक्रमणदर रहेको छ । अधिकांश सिमानाकामा हेल्थ डेस्क स्थापना गरीएको र केहि स्थानमा हेल्थ डेस्क बन्ने क्रममा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय निती योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले कोरोना संक्रमण रोकथामका लागि अन्तरमन्त्रालय, संघ, प्रदेश र स्थानिय तहबिच समन्वय जरुरी रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।दीपेन्द्ररमण सिंहले कोरोना विरुद्धको खोप अभियानलाई द्रुत गतिमा अघि बढाइने बताए ।

स्वास्थ्य मन्त्रालयले साउनमा थप ५३ हजार तीन सय सात जना, भदौमा ४५ हजार सात सय २६ जना, असोजमा ३८ हजार पाँच सय ९७, कार्तीकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार एक सय ८३ जनामा संक्रमण हुने प्रक्षेपण गरेको छ । कुल थपिएका संक्रमित मध्ये ८० प्रतिशत अर्थात् एक लाख ५५ हजार ८५ जनामा सामान्य, १५ प्रतिशत अर्थात् २९ हजार ७८ जनामा जटील समस्या र पाँच प्रतिशत अर्थात् ९ हजार ६ सय ९३ जनामा गम्भिर लक्षण देखिने प्रक्षपण गरेको हो ।

Tags

छुटाउनु भयो कि ?