नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
यसअघि आइतबारको बैठकले माधव नेपाल पक्षको बहिष्कारकाबीच महाधिवेशन केन्द्रित निर्णयहरु गरेको छ । आइतबारको बैठकले भदौ २७ र २८ गते गर्न लागेको विधान महाधिवशेनका लागि चार कार्यदल गठन गरेको थियो ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । प्रस्तावहरूलाई अन्तिम रूप दिन साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आइतबारको बैठकले गरेको छ ।
यस्तै सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय पनि बैठकले गरेको थियो ।
आजको बैठकमा पनि नेपाल पक्ष सहभागी नहुने भएको छ । तथापि नेपाल पक्षलाई सहमतिमा ल्याउन संस्थापन पक्षका नेताहरुले लागि परेका छन् ।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।
तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।