टप खबर

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

Lumbinikhabar Online

कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि झापामा फेरि शनिबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै साउन १६ गते मध्यराति देखि २३ गते सम्म पुनः निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ। झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए।

निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ। काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारीद्वारा हप्तामा तीन दिन मात्र सञ्चालन गर्न, हाटबजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको छ। निषेधाज्ञाको अवधिमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गरेमा कानूनबमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए।

Tags

छुटाउनु भयो कि ?