टप खबर

जोरबिजोर प्रणालि लगायत धेरै कुरामा यातायात व्यवसायी असन्तुष्ट, के हुन् त मागहरु ?

Lumbinikhabar Online

सरकारको निर्णय विरुद्ध नेपाल यातायात व्यवसायी र यातायात मजदुर संघहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आह्वान गरेका छन् । सरकारले यातायात व्यवसासी तथा मजदुरहरूको कुरा नसुनेको व्यवसायीहरूको आरोप छ । उनीहरूले आगामी शुक्रबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन चलाउने जनाएका छन् । नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले भने, ‘असार १८ देखि देशभर छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ ।’ काठमाडौँ जिल्ला प्रशासनले बिहीबार यस विषयमा छलफलका लागि यातायात व्यवसायी र मजदुर सङ्गठनका पदाधिकारीलाई बोलाएको उनले बताए । उनले भने, ‘बिहीबार २ बजे छलफलका लागि बोलाउनुभएको छ, हामी आशावादी छौँ, हाम्रो माग सम्बोधन हुनेछ ।’

  • के हुन् त मागहरु ?

सरकारले २५ सिटभन्दा माथिका गाडीमात्र चलाउन दिएकोमा आपत्ति रहेको भण्डारीले बताए । सिट क्षमता कम भए पनि गन्तव्यमा पुग्न यात्रुहरू गाडी चढ्नै पर्ने हुन्छ । त्यसकारण स्वास्थ्य मापदण्ड अपनाएर जोरबिजोर नगरी सबै किसिमका गाडी चल्न पाउनुपर्ने पहिलो माग छ ।

यातायातका क्षेत्रमा काम गर्ने श्रमिकलाई खोप दिने प्रतिबद्धता पनि व्यवसायीहरूले मागेका छन् । बैंकको कर्जा र पुनर्कर्जा सहजीकरण गर्नुपर्ने अर्को माग छ ।

भाडा समायोजन गर्नुपर्ने माग पनि छ । भण्डारीका अनुसार २०६९ सालयता भाडा समायोजन भएको छैन । हरेक वर्ष वैज्ञानिक हिसाबले तेल र पार्टपूर्जाको भाउ तथा अन्य महँगी हेरेर घट्दा घटाउने र बढ्दा बढाउने भनिएको थियो ।

प्रशासनले सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, सहचालकले पन्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक निसंक्रमित गर्नुपर्ने प्रावधान छ ।

सबै जसो क्षेत्र खुला भएको अवस्थामा जोरबिजोरले गाडीमा यात्रुको भिड बढाउने र संक्रमणको जोखिम हुने भएकाले सबै गाडी चल्दा जोपिख कम हुने व्यवसायीहरूको जिकिर छ ।

Tags

छुटाउनु भयो कि ?