टप खबर

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता

Lumbinikhabar Online

विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एक शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् । जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै मूल्यमा एकअर्कालाई धोका नहुने बताए ।

पत्रकारको प्रश्नको जवाफ दिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले स्वीकार नगर्ने बताए ।  नेपाललाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर पनि विपक्षी गठबन्धनबाट अलग गराउने अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरुबीच छलफल भइरहेका बेला उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । तर माधव नेपाल धोका दिने मान्छे होइन ।’

नेपालपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई आफूहरु (माधव नेपाल र प्रचण्ड)ले नै  प्रधानमन्त्रीका लागि अगाडि सारेको बताए । उनले भने ,‘शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन। मैले र माधवजीले उभिदिनुस् भनेका हौं। साथ दिन्छौँ भनेर हामीले उभ्याएका हौँ । यो पटक उहाँले प्रधानमन्त्रीका लागि साह्रै गरेको होइन । यो कुरा म तपाईंहरुलाई जानकारी गराउँछु ।’ प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने कुरा नेकपामै हुँदा बताएको भन्दै देउवालाई प्रधानमन्त्री बन्ने कुरामा धोका नहुने बताए ।

साथै देउवाले पनि एमाले नेता नेपाललाई धोका नहुने बताए । उनले भने, ‘माधवजी लडाकू मित्र हो । उहाँले क्रान्तिकारी पार्टीको नेतृत्व गर्नुहुन्छ होला । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ । उहाँलाई मबाट पनि कुनै धोका हुँदैन ।’

Tags

छुटाउनु भयो कि ?