टप खबर

‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो’: शेर बहादुर देउबा

Lumbinikhabar Online

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।

‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ’, उनले भने, ‘राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो।’

‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुःख लागेको छ’ उनले भने ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।

‘अदालतले प्रधानमन्त्री बनाओस् भन्ने होइन। संविधानको व्याख्या गर्ने सर्वोच्च अदालत हो भनेको हो। राष्ट्रपतिले को-कता छ भनेर सोध्नपर्ने हो। त्यो नगरी दुई बजे भंग गरियो’, उनले भने।

उनले ओलीलाई अधिनायकवादीको संज्ञा दिएका छन्। ‘ओली संविधानवादी लोकतन्त्रवादी केही होइन उनी मनपरी गर्ने अधिनायकवादी हुन्। संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो। संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो।’

संविधानमा स्पष्ट लेखेको समेत नगर्ने राष्ट्रपतिले कसरी संविधाननको रक्षा गर्न सक्छ भन्दैं उनले पटक पटक राष्ट्रपतिलाई ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाए।

Tags

छुटाउनु भयो कि ?