टप खबर

त्रिभुवन विश्वविद्यालयले रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी

Lumbinikhabar Online

। त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ ।

असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार साउनको पहिलो साताभित्र बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी भइरहेको छ ।गत वैशाखमा स्नातक तहको परीक्षा भइरहेको बेला कोरोना नियन्त्रण एवं रोकथामका लागि जारी निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो ।

व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । उक्त बाँकी रहेका परीक्षा सकेपछि मात्रै परीक्षा नै हुन नसकेका विद्यार्थीको परीक्षा हुनेछ । स्नातक तहका १९ महिनादेखि परीक्षा हुनै सकेको छैन ।

बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुने नियन्त्रक जोशीले बताए । उनले भने, ‘परीक्षा दिइरहेका विद्यार्थीको प्रश्नपत्र सम्बन्धित केन्द्रमा गइसकेकाले केन्द्र परिवर्तन गर्न गाह्रो छ ।’

करिब साढे दुई लाख परीक्षार्थी परीक्षाको पर्खाइमा रहेको र उनीहरुले पायक पर्ने स्थानमा केन्द्र रोज्न दिएर परीक्षा गराउन अनुरोध गरिरहेको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसैले उनीहरुले आफूलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ । उनीहरुको हकमा भने परीक्षा केन्द्र रोज्नका लागि समय तोकिने छ ।

Tags

छुटाउनु भयो कि ?