कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा ५१ वर्षीय बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरि पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
मृतकका बुवाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरि कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।