टप खबर

चीनबाट ४० लाख डोज खोप किन्ने तयारी: उपप्रधानमन्त्री रघुवीर महासेठ

Lumbinikhabar Online

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे ।
‘जोनसन एण्ड जोनसनको ५० लाख बिश्वबैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै किनेर हामीलाई दिने भनेका छौं’ महासेठले भने– ‘चीनबाट पनि ४० लाख डोज ल्याउँदै छौं ।’

हालै बसेको मन्त्रिपरिषद् वैठकले चीनको भेरोसेल खोप किन्न सैद्धान्तिक सहमति दिएको सरकारी स्रोतहरुले बताएका छन् । खोपको प्रति डोज मूल्यका बिषय गोप्य राख्न चीनले गरेको आग्रहलाई ख्याल गर्दै मन्त्रिपरिषद्ले ४ अर्ब ५० करोड रुपैयाँको सीमाभित्र रहेर चीनसँग खोप किन्ने निर्णय गरेको बताइएको छ ।

प्रति डोज १० देखि १२ डलरको बिचमा मूल्य पर्नेगरी खरिद सम्झौता हुन लागेको बताइएको छ । चीनले यसअघि अनुदानस्वरुप दिएको सिनोफार्माको भेरोसेल खोप नै खरिद गर्न लागिएको बताइएको छ । सरकारले गत बर्ष कोरोना महामारी सुरु हुने बेलामा पनि नेपाली सेनामार्फत् सिनोफार्मासँगै स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।

परराष्ट्रमन्त्री महासेठका अनुसार खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताइरहेका छन् । तर, नेपाल सरकारले सकेसम्म ४५ दिनभित्र नभए ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको उनले खुलाए ।

कहिलेसम्म नेपाली जनताले खोप लगाउन पाउँछन भन्ने प्रश्नमा महासेठले भने– ‘उपलब्ध भयो भने दशैंभन्दा पहिले, (नभए) जुनसुकै मूल्यमा पनि मंसिरसम्म सबैलाई दिनुपर्छ ।’
मंसिरसम्ममा साढे दुई करोड डोज खोप बितरण गर्नेगरी गृहकार्य गरिरहेको महासेठको दावी छ ।

Tags

छुटाउनु भयो कि ?