विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ ।
मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको हो ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।
डिफेन्डर हुमेल्सले २०औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ ।