इटालियन सिरी ए मा शीर्ष चौथो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।
सिरी ए अन्तर्गत अन्तिम खेलमा उसले बोलोग्नालाई ४–१ गोल अन्तरले हराएपछि चौथो स्थान रक्षा गर्न सकेको हो। यता अर्को बलियो टिम नापोलीले बराबरी खेल्नु नापोलीका लागि दुभार्ग्य रह्यो भने युभेन्टसका लागि सौभाग्य सावित भयो।
अन्तिम चरणको खेल हुनुअघि चौथो स्थानको नापोलीको ७६ अंक थियो भने पाँचौ स्थानको युभेन्टसको ७५ अंक थियो। अन्तिम खेलमा नापोलीले जित निकालेको खण्डमा युभेन्टसको च्याम्पियन्स लिगमा पुग्ने अवसर समाप्त हुने थियो।
तर, नापोलीले अन्तिम खेलमा वेरोनासँग १–१ गोलको बराबरी खेलेको छ। बराबरीसँगै उसले ७७ अंक बनायो भने युभेन्टसले ७८ अंक बनायो।
डिफेन्डिङ च्याम्पियन युभेन्टसले २३ जित, ९ बराबरी र ६ हारका साथ ७८ अंक बनाएको हो। जहाँ उसले ७७ गोल गर्याे भने ३८ गोलको सामना गर्याे। युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सिरी ए का सर्वाधिक गोलकर्ता बनेका छन्।
यससँगै सिरी ए बाट इन्टर मिलान, एसि मिलान, एटलान्टा र युभेन्टस च्याम्पियन्स लिगमा पुगेका छन्। यता पार्मा,क्रोटोन र बेनिभेन्टो भने रेलिगेट भएका छन्।