साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको नयाँ रेकर्ड कायम भयो । उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुग्यो ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि शून्य प्रायः भएका बेला कारोबार पनि उच्च साढे १० अर्ब हाराहारी पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा हरिलायी छायो । निर्जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ८४ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि ५ सय २८ अंक, अनि विकास बैंक समुह १ सय १२ अंकले उकालो लाग्यो ।
यस्तै लघुवित्त समुह, वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र उत्पादनमुलक समुहमा पनि दोहोरो अंकको सुधार आयो । यसदिन १ सय ४६ कम्पनीको शेयर मुल्य बढ्दा ३२ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा युनियन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे । यसदिन २ सय १३ कम्पनीको २ करोड १३ लाख कित्ता शेयर १० अर्ब ४० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।