आर्टिकल्स

सरकारको मुख ताकेर मात्र बस्नु हुदैन

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

कोरोना भाइरसको संक्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनौं जसो आइरहेका छन । यो नै चिन्ताको बिषय बनेको छ । यति बेला संक्रमितको संख्या बढे संगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुदैछ ।

समयमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ की सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन्। यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नु पर्ने हो की होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देश भरी जनता त्रासमा छन । अहिले बढीरहेको यो संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ ।

यसमा जनता साथ दिन तयार छन । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा संक्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयारी गर्न नसक्नु ठूलो भूल हो ।

सवै भन्दा महत्वपूर्ण कुरा के हो भने जुन सुकै बिपत आउनु भन्दा पहिला सरकारले पूर्व तयारी गरेर बस्नु पर्छ । त्यसो भयो भने क्षति कम हुन सक्छ । यदि कोरोनालाई केही हद सम्म नियन्त्रणमा ल्याउने हो भने सरकारले हवाई र स्थल सिमानामा कडाई गर्नु पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएपश्चात लगभग एक हप्तामै संक्रमितको संख्या चार गुणाले बढ्न थालेको देखिन्छ ।

यो खतराको संकेत हो । नयाँ भेरियन्टको भाइरसले बालबालिका समेत प्रभावित भइरहेका छन । हाम्रो देशमा औषधि, अक्सिजन र बेडको अभाव भइरहेको छ । विज्ञहरूका अनुसार विगतको भन्दा यसपटकको दोस्रो लहरले क्षति झन् बढी हुने छ । खुला सिमाना भएकै कारण नाकामा कडाई गरिएको छैन। हवाई मार्गबाट समेत निर्बाध रूपमा विदेशबाट यात्रुहरू आइरहेका छन ।

यस्तो हुँदा जोखिम झनै बढेर गएको छ । बेलैमा हवाई र स्थल सीमा–नाकामा कडाई नगरिएकोले यो भयावह परिस्थिती निम्तेको हो । अझै पनि नाकामा कडाई गरिएको छैन। यसको रोकथामका लागि हाम्रो देशमा कुनै पनि पूर्वतयारी देखिएन । अहिले पछुताउने काम मात्र भएको छ । यसपटक स्थिति अत्यन्तै भयावह हुने संकेत देखिन्छ ।

तपाईले देखिरहनु भएको छ , छिमेकी देश भारतमा पनि अवस्था जटिल छ । उपचार नपाएर अस्पतालबाहिरै छट्पटाएर ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । कारण के हो भने अक्सिजन लगायत रेम्डेसिभिर औषधि, भेन्टिलेटरको अभाव हो । गत वर्ष इटलीको अवस्थाभन्दा यसपटक भारतमा विकराल अवस्था देखिएको छ । त्यो स्थिती नेपालमा नहोला भन्न सकिदैन । अव सवै मिलेर यसको सामाना गरौं । यो बाहेक अर्को कुनै बिकल्प देखिदैन ।

सवैले आ आफनो सुरक्षा आफै गरौं । सरकारको मुख ताकेर मात्र बस्नु हुदैन । अवस्था जटिलता तर्फ गएको छ । अव कसरी हुन्छ आफू जोगिने कोसीस गर्नु पर्छ । हामीले दोस्रो लहर भित्रनु भन्दा पहिला धेरै लापरवाही गरेका थियौं । त्यसको सजाय हो यो । भिड भाड गर्ने , सभा गोष्ठि , ठूला ठूला आमसभा जुन किसिमले यो भन्दा पहिला भए त्यसको परिणाम हो यो ।

सर्वसाधारणले पनि पहिलो चरणको लकडाउन खुलेपश्चात अत्यन्तै लापरबाहीका साथ सभा र सम्मेलनमा भिडभाड गर्ने, मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने जस्ता आदी इत्यादी काम गरे । अव हामी सवैले गंम्भिर भएर सोच्न सकिएन भने अझै बिकराल अवस्था आउन सक्छ । शवहरूको दाहसंस्कार र शव व्यवस्थापन गर्न समेत समस्या आउन सक्छ । देशको अर्थतन्त्र केही मात्रमा चलायमान हुन थालेको बेला पुनः लकडाउन भएको छ । लामो समय सम्म यो लकडाउन नेपाल र नेपाली जनताले थेग्न नसक्ने निश्चित छ ।

Tags

छुटाउनु भयो कि ?