खेलकुद

मेयर्स कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

Lumbinikhabar Online

नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए। दिपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे। एपीएफका अविनास बोहरा र भुवन कार्कीले १र१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो। एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८–१८ रन बनाए।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए। कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे। कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४–४ विकेट लिए। गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए। पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट लिए।

उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझाएको छ। प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो।

Tags

छुटाउनु भयो कि ?