टप खबर

हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

Lumbinikhabar Online

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो ।

१ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’

यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तारीको माग गरेका थिए तर इन्टरपोलले उनको अनुरोध अस्वीकार गरेको थियो । त्यतिबेला इन्टरपोलले आफ्नो संविधानले आफूलाई कुनै राजनैतिक, सैन्य, धार्मिक र नश्लीय मामिलामा कारवाही गर्न अनुमति नदिने जवाफ दिएको थियो ।

ट्रम्प यही जनवरी २० सम्म मात्र राष्ट्रपति पदमा रहनेछन् । यस्तोमा इरानले ट्रम्प पदमा नरहेपछि उनीमाथि दबाब बनाउन सजिलो हुने अपेक्षा गरेको छ । इरानका मुख्य न्यायाधीश इब्राहिम रैसीले सौभाग्यले ट्रम्पको राष्ट्रपतिको कार्यकाल सकिन लागेको टिप्पणी गरेका छन् । उनले यदि ट्रम्पको कार्यकाल समाप्त नभएको भए पनि कुनै व्यक्ति पदमा रहेकै भरमा जवाफदेहीता तय नहुने कुरा स्वीकार नगरिने बताएका छन् ।

कासिम सुलेमानीको मृत्युको एक वर्ष भएसँगै अमेरिका र इरानबीच फेरि तनाव बढेको छ । गत महिना मात्रै अमेरिकाले खाडीमा कैयौं पटक आफ्ना बमवर्षक विमान उडाएको थियो । सोमबार मात्र अमेरिकाले इरानबाट खतरा बढेको भएदै आफ्नो नेवीको एक एयरक्राफ्ट क्यारिअरलाई खाडी क्षेत्रमा तैनाथ राख्ने निर्णय गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?