बिश्व

यमनको नयाँ मन्त्रीमण्डलका सदस्य सवार जहाज अवतरण भएको केहीबेरमै विमानस्थलमा बिस्फोट

Lumbinikhabar Online

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो ।

प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् ।

बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ । अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ ।

बुधबार एडेन विमानस्थलमा भएको घटनाको भिडियोमा देखिए अनुसार ठूलो बिस्फोट देखिन्छ । नयाँ मन्त्रीमण्डलका सदस्य सवार विमानबाट यात्रुहरु निस्कन लागेका बेला बिस्फोट भएको हो ।

मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरु बिस्फोटपछि भाग्दै गरेको तथा गोली चलेको आवाज पनि भिडियोमा सुनिन्छ । कम्तिमा दुईवटा बिस्फोट भएको एएफपी समाचार संस्थानका रिपोर्टरले बताएका छन् ।

बिस्फोटको कारण खुलेको छैन, तर सुरक्षा स्रोतले समाचार संस्था रोयटर्सलाई विमानस्थलको टर्मिनलमा तीनवटा मोटार शेल्स खसेको बताएका छन् ।

तर साउदी टेलिभिजन अल–हादाथले मिसाइल आक्रमण भएको बताएको छ ।

सन् २०१९ को अगस्टमा एडेनको एक सैन्य परेडमा हुथीले गरेको मिसाइल आक्रमणमा ३६ जनाको ज्यान गएको थियो । बुधबारको आक्रमणमा केही मन्त्रीहरु घाइते भएको र उनीहरुसहित सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?