बिबिध

पशुपतिमा वातावरणमैत्री शवदाह गृह

Lumbinikhabar Online

पशुपति क्षेत्रमा वातावरणमैत्री शवदाह गृह थपिएको छ। पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त पहलमा उक्त वातावरणमैत्री शवदाह गृह अब सञ्चालनमा आउने भएको हो।

बैंकले रू. ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो। शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताएका छन्।

वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिनेछ। हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन्।

बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ। यस शवदाह गृहमा शव जलाउन पनि कम समय लाग्नेछ। एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ। भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ।

Tags

छुटाउनु भयो कि ?