बिबिध

नबिल बैंक बन्यो पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने करदाता

Lumbinikhabar Online

बैंक तथा वित्तीय संस्थाहरुमध्ये विगत पाँच वर्षदेखि सरकारलाई सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंकले आफ्नो पकड जमाउँदै आएको छ। बैंकले उक्त पकड आर्थिक वर्ष २०७५/०७६ मा पनि छाडेन। गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी आयकर तिर्ने करदाता नबिल बैंक बन्यो।

गत आर्थिक वर्षमा नबिल बैंकले सरकारलाई करिब डेढ अर्ब बराबरको आयकर बुझाएको नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीले जानकारी दिए।

‘हामीले आयकर डेढ अर्ब तिर्‍यौँ। यो वर्षको नाफा हेर्दा त्योभन्दा बढी नै तिर्छौँ। हामी एक त्रैमासिकमा करिब ४० करोड रुपैयाँ बराबरको कर तिर्छौँ। यसै लयमा गयो भने अर्को वर्ष डेढ अर्बभन्दा बढी कर तिर्छौँ,’ उनले भने।

उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्बभन्दा बढीको खुद नाफा भएको बताए। संस्थाको सुशासन तथा ग्राहकहरुको विश्वासका कारण बैंकको नाफा उच्च रहेको उनको भनाइ छ।

उनले भने, ‘कर तिर्ने भनेको नाफासँग सम्बन्धित हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशतका दरले नै कर तिर्ने हो। हामीले एडभान्समा ट्याक्स तिरेका हौँ। हाम्रो गत वर्षको अडिट फाइनल भएको छैन। तर पनि हामीले करिब डेढ अर्ब कर तिरेका हौँ।’

अन्य बैंकको तुलनामा नबिल बैंकका ग्राहकहरु सन्तुष्ट भएकाले पनि सफल भएको उनको भनाइ छ। ‘अरु बैंकले नाफा कमाए पनि ग्राहकको गाली धेरै देखिन्छ,’ उनले भने, ‘अरु बैंकको तुलनामा नबिलका ग्राहकहरु सन्तुष्ट नै छन्। त्यस कारणले यो एचिभमेन्ट राम्रो हो।’

उनले सुरुदेखि नै संस्था सुशासनमा बसेर अगाडि बढेकोले आजको दिनमा संस्थाको ‘क्यापिटल रिजर्भ’ करिब २६ अर्बको रहेको बताए।

Tags

छुटाउनु भयो कि ?