सरकारले कोभिड–१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो ।
यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिए । यो कार्यविधि आजकै मितिदेखि लागू भएको पनि उनले जानकारी दिए ।
विगतमा व्यवसायीबाट आएको मागलाई सम्बोधन गर्दै उक्त निर्णय गरिएको सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ ।