बिबिध

आज नवरात्रको आठौँ दिन :महाष्टमी दुर्गाभवानीको विशेष पूजा

Lumbinikhabar Online

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गाभवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँदै छन्।

बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।

आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। तर यसपटक कोरोनाका महामारीका कारण विभिन्न शक्तिपीठ तथा मठमन्दिरमा गुठीका तर्फबाट दिइने पशुबलि भने कटौती गरिएको छ।

यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गर्ने प्रचलन पनि रहिआएको छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

“सात्विक, राजसिक र तामसिक तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ। सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजसिक पूजा भनिन्छ भने राजसिकका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामसिक पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो,” डा. गौतम भन्छन्।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ। आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद्को भनाइ छ।

चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा. डा. गौतम बताउँछन्। “राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ,” उनी भन्छन्।

यी तीन शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ। ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ।

Tags

छुटाउनु भयो कि ?