बिबिध

दशैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको विशेष पूजा

Lumbinikhabar Online

नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ ।

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ । पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।

श्रौतयज्ञानुसार पशु बली र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबली दुई प्रकारको हुन्छ ।बली प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ । जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ ।

Tags

छुटाउनु भयो कि ?