बिबिध

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

Lumbinikhabar Online

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भने। उनका अनुसार केही दिन बाँकी रहेकाले राष्ट्रपति कार्यालयले निर्णय गर्न बाँकी छ।

उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गरेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिए। उनले भने– ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भीडभाड हुने टीकाको कार्यक्रम स्थगित भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘यस्तो परिस्थितिमा यो वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको छ।’ –उनले भने। स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेपछि देशभर सबै निकाय र विशिष्ट व्यक्तिले चाडवाडमा भिडभाड गर्ने किसिमको सबै कार्यक्रम स्थगित गर्नुपर्छ। तर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेरै स्थगित गर्नुपर्ने हुन्छ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन्। स्रोतका अनुसार सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ। दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ।

योवर्ष दशैंको टीका मात्र होइन ठूला पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमसमेत स्थगित हुने भएको छ । औपचारिकरुपमा निर्णय नभए पनि यो वर्षका लागि चाडवाड लक्षित चियापान कार्यक्रम स्थगित हुने सम्भावना रहेको छ । कोरोना संक्रमणको उच्च जोखिम भएको उपत्यकामा चाडवाड र अन्य अवस्थामा भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न मापदण्ड नै जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डमा धार्मिकस्थलमा २५ जनाभन्दा माथि भेला हुन पाइनेछैन।

 

Tags

छुटाउनु भयो कि ?