बिबिध

महिला चेम्बरको आयोजनामा अनलाईन व्यापार तालिम सम्पन्न

Lumbinikhabar Online

नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए । लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले महिला चेम्बर सम्बद्ध महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बिक्रीका लागि डेडिकेटेड स्टाफमार्फत न्युन कमिशन वेशमा नै प्रबन्धनको व्यवस्था गर्ने, बिक्रीको भुक्तानी बैंक खाता मार्फत हुनेहुँदा बिक्रेतालाई सहज हुने जानकारी दिएका थिए ।

सहभागीहरुले अनलाईन व्यापार र सोचेको डटकमको सेवा प्रवाह माथि केन्द्रित रहेर राखेको प्रश्नको जवाफ दिने क्रममा लोहनीले अनलाईन प्लेटफर्म र सोचेको डटकमको साईटको प्रभावकारिता, डेलिभरीमा लाग्ने शुल्क र समय, सामाग्रीको डेमो र साईट व्यवस्थापनका विविध पक्ष बारे संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ का कारण महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्यालाई हल गर्ने उदेश्यका साथ २१ आश्विनमा महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी सम्झौता भएको र सो सम्झौताको प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सहजतापुर्वक बजारिकरण गर्ने उदेश्यलाई साकार पार्न तालिमको आयोजना गरिएको बताईन् । साथै, उनले औपचारिक रुपमा सोचेको डट कम मार्फत थालनी गर्न लागिएको अनलाईन व्यापारले हाल देखिएको समस्यालाई हल गर्न ठुलो टेवा पुग्ने आशा समेत व्यक्त गरिन ।

कार्यक्रम माझ महिला चेम्बरकी पुर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले इजरायली बजारमा नेपालको मह, चिया, हस्तकलाजन्य सामाग्रीहरुलाई अधिक रुचाईएको बताउदै जुनसुकै सामाग्रीहरुको पहुँच विस्तार गर्न समय, गुणस्तर र मुल्यलाई ध्यान दिनुपर्ने बताईन् । यस अघि संस्थाकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्ने क्रममा महिला उद्यमशिलतालाई प्रबर्द्धन गर्न अनलाईन व्यापारको माध्यम प्रभावकारी हुने निचोडका साथ अनलाईन व्यापार सेवा प्रदायक सोचेको डटकमसँग सम्झौता भएको र उक्त प्लेटफर्मको प्रयोग गर्न आवश्यक सिप विकास सम्बन्धी तालिमको आयोजना गरिएको स्पस्ट पारेकी थिईन् । कार्यक्रम माझ संचालकको भूमिका निर्वाह गर्ने क्रममा संस्थाकी सदस्य एवम कार्यक्रम संयोजक जानकी प्रधान श्रेष्ठले महिला चेम्बरमा आवद्ध उद्यमीहरुमा अनलाईन व्यापार सम्बन्धी ज्ञान प्रवर्द्धनमा तालिम कोशेढुङा बन्ने आशय व्यक्त गरेकी थिईन ।

त्यसै गरि महिला चेम्बरकी कोसाध्यक्ष चारु सिकरियाले कार्यक्रममा सहभागीताका सबैलाई धन्यवाद व्यक्त गर्दै तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा लागु गर्दै जानुपर्ने धारणा राखेकी थिईन । कार्यक्रममा साल्ट ट्रेडिङका संचालक समिती सदस्य प्रदिपलाल श्रेष्ठ, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जङ शाह, महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।

Tags

छुटाउनु भयो कि ?