बिबिध

भेरी अस्पतालका लेखा अधिकृत आचार्य समेत १५ जना विरुद्ध मुद्दा

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जस्थित भेरी अस्पतालका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  बिभिन्न फर्म तथा पसलेहरुबाट घुस लिएको भन्दै अख्तियारले उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। दायर गरिएको मुद्दामा घुस लिने र घुस दिने दुवैसँग २७ लाख २६ हजार ७७० रुपैयाँ बिगो दाबी गरिएको छ।

भेरी अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरु माथि अनुसन्धान थालेको थियो। अख्तियारको टोलीले कम्प्यूटर अपरेटर खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँ सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत आचार्य, कम्प्युटर अपरेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीले मिलेमतोमा आर्थिक बर्ष २०७६/०७७ मा सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद तथा जिन्सी घुल लिएको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले घुस लिने चार जनासँग १९ लाख १३ हजार ७० रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ। घुस दिनेहरु ११ जनासँग ८ लाख १३ हजार ७०० रुपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियारले मुद्दा दायर गरेका अन्य व्यक्तिमा नेपाल स्टोर नेपालगन्जका संचालक साहिद हलवाई, लुम्बिनी स्टेसनरी नेपालगन्जका संचालक पुर्णिमा भण्डारी, कमला ईन्टरनेसनल तथा कृष्णा इन्टरनेसनल नेपालगन्जका संचालक दिपेन्द्र अग्रवाल, हनुमत स्टेसनरी एण्ड अडर सप्लायर्स नेपालगन्जका संचालक राजेन्द्र कुमार सोनी र ईन्फोसिस बाँके खजुराका संचालक सुदिप रिजाल रहेका छन्।

यस्तै, रोशनी स्टिल फर्निचर उद्योग नेपालगन्जका संचालक ईजामुद्दिन खाँ, रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगन्जका संचालक अब्दुल अन्सारी, अम्बे फर्निसिङ गार्डेन नेपालगन्जका संचालक पंकज कुमार श्रेष्ठ, बागेश्वरी विज्ञापन सेवा नेपालगन्जका संचालक ज्ञान बहादुर वली, न्यु निजाम स्टोर नेपालगन्जका संचालक कमालुद्दिन मुकेरी र ओसियन ईन्टरनेसनल तथा पश्चिमाञ्चल डिस्ट्रिव्युटर नेपालगन्जका संचालक अबनिश कुमार अग्रवालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

Tags

छुटाउनु भयो कि ?